खोलिखिम बजारमा बाढीको जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण सुरू

विगु गाउँपालिका–४ अन्तर्गत पर्ने सिङ्टी–झोरोङ–सोरङ सडक खण्डको खोलिखिम बजार बाढी र नदी कटानको उच्च जोखिममा परेपछि, स्थानीय सरकारको पहलमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको सहकार्यमा तटबन्ध निर्माण कार्य सुरू गरिएको छ। हरेक वर्ष मनसुनको समयमा खोलाको बहाव बढ्दा बजार क्षेत्रमा कटान भई संरचनागत क्षति हुने गरेको स्थानीयवासीहरूको गुनासो छ। प्राकृतिक जोखिम बढ्दै गएपछि बजार क्षेत्रको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न तटबन्ध निर्माणको काम अघि बढाइएको हो।
विगु गाउँपालिका अध्यक्ष सञ्जीव ओलीका अनुसार, तटबन्ध निर्माण कार्य स्थानीय सरकारको पहलमा जलविद्युत् आयोजना र समुदायको सहकार्यमा अगाडि बढाइएको हो। ‘खोलिखिम बजार रणनीतिक दृष्टिले महत्वपूर्ण स्थानमा रहेको छ। यसलाई सुरक्षित बनाउने प्रयासस्वरूप अहिले प्रारम्भिक चरणमा तटबन्ध निर्माण सुरू भइसकेको छ,’अध्यक्ष ओलीले बताउनुभयो। तटबन्ध कार्य सम्पन्न भएपछि नजिकैको सडक सञ्जाल, व्यापारिक गतिविधि र सर्वसाधारणको बसोबास समेत सुरक्षित हुने अपेक्षा गरिएको छ।
स्थानीय सरकारका प्रतिनिधि, निर्माण व्यवसायी र प्रभावित समुदायबीच नियमित समन्वय गरी कार्यलाई प्रभावकारी बनाउन योजना बनाइएको जनाइएको छ।