१० रुपैयाँबाट सुरु भएको महिलाको सहकारी ९ करोड माथिको पुँजीमा: १८६० सदस्यको दुःखसुखको सारथी

मासिक १० रुपैयाँबाट सुरु गरिएको एक सानो प्रयासले आज ठूलो उपलब्धि हासिल गरेको छ। दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका वडा नं २, गैरीमा ७८ जना सदस्यले २०६० साल अगाडि सुरु गरेको ‘प्रगतिशिल बहुउद्देश्यीय सहकारी संस्था’ अहिले ९ करोड ५३ लाख रुपैयाँभन्दा बढी पुँजीको मालिक बनेको छ।
शुरुवातमा आफ्ना दुःखहरूलाई कम गर्ने उद्देश्यले सहकारी सुरु गरेका महिलाहरूको समूह अहिले १८६० सदस्यसम्म विस्तार भइसकेको छ। सहकारीले सदस्यको हात समात्ने मात्र हैन, गाउँको आर्थिक र सामाजिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । संस्थाका व्यवस्थापक तीर्थबहादुर खड्काका अनुसार सहकारीको कुल पुँजी ९ करोड ५३ लाख २२ हजार ६२० रुपैयाँ पुगेको छ। जगेडा कोषमा ४९ लाख रुपैयाँभन्दा बढी रकम छ भने अन्य कोषमा ९९ लाख ४७ हजार रुपैयाँ संचित गरिएको छ। हालसम्मको बचत निक्षेप ६ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने ६ करोडभन्दा बढी रकम विभिन्न सदस्यलाई ऋण रूपमा लगानी गरिएको छ। सहकारीमा हाल ४०५ जना ऋणी सदस्य रहेका छन्।
२०६० साल माघ २८ गते जिल्ला सहकारी कार्यालय काभ्रेमा विधिवत दर्ता भई सञ्चालनमा आएको यो सहकारी संस्था हाल बैतेश्वर र कालिञ्चोक गाउँपालिकासम्म कार्यक्षेत्र विस्तार गरिसकेको छ। सहकारीले आफ्नै सुविधासम्पन्न भवन निर्माण गरी सेवा दिँदै आएको छ। सहकारीले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै आएको छ। सदस्यको मृत्यु भएमा राहतस्वरूप ७ हजार रुपैयाँ प्रदान गर्ने, मृतकको परिवारलाई १३ दिनभित्रै भेटेर २ हजार रुपैयाँ सहयोग गर्ने, सुत्केरी भत्ता, स्वास्थ्य उपचारमा सहयोग, ज्येष्ठ नागरिक तथा असल सेयर सदस्यहरूलाई सम्मान गर्ने जस्ता कार्यक्रमहरू सञ्चालनमा छन्।
स्थापनाकालमा ७८ जना सदस्यबाट सुरु भएको सहकारी संस्था आज गाउँका महिलाहरूको आत्मनिर्भरता र सामाजिक उत्थानको प्रेरक केन्द्र बनेको छ। सहकारीमा आबद्ध महिलाहरूको संघर्ष, प्रतिबद्धता र समर्पणले यो संस्था साँच्चिकै ‘दुःखसुखको सारथी’ बनेको देखिन्छ।
लेखकको बारेमा
-1742897125.jpg)
दोलखा संवाददाता
सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्याउने अनलाईन समाचार पत्र।