इरानी जेलमा रहेका एक फ्रान्सेली नागरिक रिहा

दोलखा संवाददाता १२ चैत २०८१, मङ्गलवार

सन् २०२२ को अक्टोबरदेखि इरानले हिरासतमा लिएका फ्रान्सेली नागरिक ओलिभर ग्रोन्डाउ रिहा हुने भएका छन् । 

उनको रिहाइको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पुष्टि गरेका छन् । उनले इरानमा रहेका अन्य नागरिकको रिहाइको पनि पहल भइरहेको बताए । म्याक्रोँले करिब ९०० दिनको कठिन परीक्षापछि ग्रोन्डाउको रिहाइको अवस्थाबारे थप जानकारी भने दिएका छैनन् । 

इरानमा रहेका अन्य दुई फ्रान्सेली नागरिकमा शिक्षिका सेसिल कोहलर र उनका साथी ज्याक पेरिस रहेका छन् । उनीहरूलाई सन् २०२२ को मे महिनामा पक्राउ गरिएको थियो । उनीहरूमथि मजदुर आन्दोलन चर्काउन खोजेको आरोप लगाइएको छ तर उनीहरूका परिवारले भने त्यसको खण्डन गरेका छन् । विदेशमन्त्री ज्याँ नोएल बारोटले ‘एक्स’ मा एक विज्ञप्ति जारी गर्दै स्वदेश फर्कने विमानभित्रको ग्रोन्डाउको तस्बिर पोस्ट गरेका छन् । 

सन् २०२२ को अक्टोबरमा दक्षिणी इरानको शिराजबाट ग्रोन्डाउलाई पक्राउ गरिएको थियो र उनलाई ‘इरानविरुद्ध षड्यन्त्र गरेको’ आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो । फ्रान्सले इरानमा रहेका आफ्ना नागरिकलाई स्वेच्छाचारी ढंगबाट हिरासतमा राखिएका ‘सरकारी बन्धक’ को संज्ञा दिएको छ । 

 

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ