गौरीशंकर गाउँपालिकामा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय सम्मानित

दोलखा संवाददाता १ असार २०८२, आइतवार

दोलखा । गौरीशंकर गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा एक भव्य सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरिनुका साथै प्राविधिक विषय अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ।

२०७९ र २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा २०८१ सालको प्राविधिक एसईई (वीईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विद्यालय र शिक्षकहरूलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको हो। यसबाट विद्यार्थीहरूलाई अझ उत्प्रेरणा मिल्ने र शिक्षक तथा विद्यालयको भूमिकालाई पनि सम्मान गरिएको आयोजक पक्षले जनाएको छ।

कार्यक्रममा गाउँपालिकामा स्थायी रूपमा बसोबास गर्ने र प्राविधिक विषयमा स्नातक तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई १० लाख रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिएको छ। यस छात्रवृत्तिबाट आर्थिक रूपमा पिछडिएका तर मेहेनती विद्यार्थीहरूले प्राविधिक शिक्षा हासिल गर्न थप ऊर्जा प्राप्त गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी, कार्यक्रममा लेखक सुरेश सुरेलद्वारा लिखित पुस्तक ‘सुरेलका रङ्गहरू’ को औपचारिक विमोचनसमेत गरिएको थियो। विमोचन समारोहमा साहित्य, शिक्षा र सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो, जसले कार्यक्रममा थप गरिमा थपेको थियो।

गौरीशंकर गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख पदाधिकारीहरूको मन्तव्य, सांस्कृतिक प्रस्तुति र सम्मान समारोहले विशेष आकर्षण पैदा गरेको थियो।गाउँपालिकाले यस्ता कार्यक्रमलाई नियमितता दिँदै शिक्षा, युवा र प्राविधिक क्षेत्रमा अझ व्यापक लगानी र प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ।

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ