भारत-पाकिस्तानबीच युद्धविराम

दोलखा संवाददाता २७ वैशाख २०८२, शनिवार

काठमाडौं । भारत पाकिस्तानबीच सुरु भएको युद्ध तत्कालको लागि रोकिएको छ । भारत र पाकिस्तानबीच युद्ध विराम (सीजफायर) को लागि शनिबार सहमति भएको हो । भारतीय विदेश सचिब विक्रम मिश्रीले शनिबार यो बिषयको पुष्टि गरेका छन् ।

उनले भने, ;पाकिस्तानको सैन्य सञ्चालन महानिर्देशक(डीजीएमओ) ले आज दिउँसो भारतीय जीडीएमओलाई फोनमार्फत सिजफायरको लागि सहमति भएको छ । यो सहमतिअनुसार दुवै पक्षबाट आज साँझ भारतीय समय अनुसार १७ः०० बजेदेखि जमीन, हावा र समुद्रमार्फत हुने सबै प्रकारको सैन्य कारवाही बन्द गरिएको छ । यो बिषयलाई दुबै मुलुकले पालना गर्नुपर्नेछ ।’

यो बिषयमा आगमी मई १२ तारिख अपराह्न १२ बजे फेरी वार्ता हुनेछ । अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान तत्कालको लागि युद्ध विराम गर्न सहमत भएको यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेका थिए । ट्रम्पले ट्रुथमा आफ्नो स्टाटस राख्दै भनेका थिए, ‘मलाई धेरै खुसी लागेको छ, भारत र पाकिस्तान तत्कालका लागि युद्ध बिराम गरेका छन् ।’

अमेरिकी विदेश मन्त्री मार्को रुवियो र भारतको विदेश मन्त्री एस जनशंकर, पाकिस्तानको विदेश मन्त्री इशाक डार र सेना प्रमुख जनरल असीम मुनीरबीच युद्ध विरामको बिषयमा आजै विभिन्न चरणमा छलफल भएको थियो । पाकिस्तानका विदेश मन्त्री इशाक डारले पनि भारतसँग भएको सहमति आंशिक नभई पूर्ण युद्धविराम सम्झौता भएको स्थानीय जियो टिभीसँग बताएका छन् ।

यसीबीच पाकिस्तानको विमानस्थल प्राधिकरणले सम्पूर्ण उडानका लागि देशको आकाशमार्ग पूर्ण रूपमा पुनः खोलिएको जनाएको छ। यो घोषणा पाकिस्तान र भारतबीच केही दिनसम्म भएको भीषण भिडन्तपछि युद्धविराम सम्झौता भएको केही समयमै सार्वजनिक गरिएको हो।

लेखकको बारेमा

दोलखा संवाददाता

सत्य, तथ्य खोजमूलक समाचारका साथै सुशासन प्रबर्द्धनमा टेवा पुर्‍याउने अनलाईन समाचार पत्र। 

अपडेटस्
ट्रेन्डिङ